ब्याजदर कम भएपछि मुद्दती निक्षेप राख्नेहरु घट्न थाले

२०८२ वैशाख ०४ गते

ब्याजदर कम भएपछि मुद्दती निक्षेप राख्नेहरु घट्न थाले

काठमाडौ । बैंक तथा वित्तिय संस्थामा ब्याजदर कम भएपछि मुद्दती निक्षेप घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेप ३४ खर्ब ७७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । जबकी अघिल्लो महिना माघ मसान्तसम्म यस्तो निक्षेप ३५ खर्ब ६ अर्ब ८७ करोड रुपैयाँ थियो । मंसिर/ पुष महिनासम्म ३५ खर्ब १६ अर्ब रुपैयाँ मुद्दती निक्षेप थियो ।

राष्ट्र बैंंकको तथ्यांकले हरेक महिना जसो मुद्दती निक्षेप घट्दै गएको देखाएको हो । गत भदौसम्म ३६ खर्ब ७८ अर्ब ८१ करोड रुपैयाँ रहेको मुद्दती निक्षेप त्यसयता भने लगातारजसो घटिरहेको छ । यद्यपि, बैंक तथा वित्तिय संस्थामा मुद्दती निक्षेपकै  रकमको हिस्सा अझै पनि धेरै देखिन्छ । साधारण बचतमा फागुन मसान्तसम्म २३ खर्ब ८० अर्ब रहेको छ भने कल डिपोजिटमा ४ खर्ब ९० अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तिय संस्थामा हालसम्म ६८ खर्ब निक्षेप नघिसकेको छ ।

Advertisement:

Ad
Ad

कल डिपोजिट कम समयका अवधिका लागि निक्षेप राख्ने एक किसिमको निक्षेप खाता हो । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् ।तत्काल राख्न र तत्काल झिक्न सकिने गरी यस्तो खाता खोलिन्छ भने साधारण बचतमा आवश्यकता परेको बेला पैसा झिक्न मिल्ने गरी राखिएको हुन्छ । यस्तै मुद्दती निक्षेप भने निश्चित समयसम्म झिक्न नमिल्ने गरी राखिएको हुन्छ । अहिले बैंकमा देशको अर्थतन्त्रको आकार (जिडिपि) भन्दा ११८.६६ प्रतिशत निक्षेप रहेको छ ।

बाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर २ वर्ष यताकै सस्तो बाणिज्य बैंकहरुले अहिले २६ महिना यताकै सस्तो ब्याजदर लिएर मुद्दती निक्षेप उठाइरहेका छन् । बैंकमा अधिक तरलता थुप्रिएपछि उनीहरुले निक्षेप निरुत्साहित गर्न ब्याजदर घटाइरहेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बाणिज्य बैंकहरुको औषत ब्याजदर ६.२७ प्रतिशत छ । यस अघि २०७९ पुषसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११.०६ प्रतिशत औषत ब्याजदर दिएका थिए ।बैंकहरुले बैशाख महिनाका लागि पनि ब्याजदर निर्धारण गरिसकेका छन् । वैशाखमा मुद्दति निक्षेपको ब्याजदर औसतमा ५.९८ प्रतिशत कायम भएको छ ।