बजेट निर्माण गृहकार्य शुरु, अर्थमन्त्री रामेश्वर खनालले बनाए राजस्व परामर्श समिति

२०८२ फागुन १५ गते

बजेट निर्माण गृहकार्य शुरु, अर्थमन्त्री रामेश्वर खनालले बनाए राजस्व परामर्श समिति

काठमाडौं । आगामी आर्थिक वर्ष  २०८३/८४ को बजेट निर्माणका अर्थमन्त्री रामेश्वर खनालले गृहकार्य शुरु गरेका छन् । यसका लागि कस्तो राजस्वको दर र दायरा हुने भन्दै सुझाव दिन राजस्व परामर्श समिति गठन गरेका छन् ।  

अर्थमन्त्री खनालले गत माघ २८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा यो समिति गठन गरेका हुन् । सदस्यहरूमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख वा वरिष्ठ प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंक का कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट मनोनित दुई जना विज्ञ  (अर्थविज्ञ र  करविज्ञ) रहेका छन्।

Advertisement:

Ad
Ad

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल आर्थिक संघ का अध्यक्ष वा उनीहरूले तोकेका वरिष्ठ पदाधिकारी सदस्य रहेका छन्। यीनीहरुले काम शुरु गरिसकेको अर्थले जनाएको छ । 


राजस्व परामर्श समिति अन्र्तगत ९ उपसमिति पनि गठन भएको छ  । उप–समितिहरूले आफ्नो कार्यक्षेत्रअनुसार अध्ययन गरी २०८२ चैत मसान्तभित्र मुख्य समितिलाई प्रतिवेदन बुझाउने छन्। त्यसपछि मुख्य समितिले २०८३ वैशाख मसान्तभित्र अर्थमन्त्रीसमक्ष सिफारिससहितको अन्तिम प्रतिवेदन पेश गर्नेछ।
उपसमितिहरुमा आन्तरिक राजस्व, भन्सार, राजस्व चुहावट नियन्त्रण, उद्योग–वाणिज्य तथा लगानी, कृषि–ऊर्जा–पर्यटन, बैंक तथा वित्तीय क्षेत्र, गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन, समष्टिगत आर्थिक तथा सम्पत्ति शुद्धीकरण निवारण रहेका छन्।