सुकुम्बासीलाई बालेनको सम्बोधनः हरेक बर्षको बाढीबाट भाग्ने समस्या हटाउँछौँ, सुरक्षित स्थानमा राख्छौ

२०८३ वैशाख ११ गते

सुकुम्बासीलाई बालेनको सम्बोधनः हरेक बर्षको बाढीबाट भाग्ने समस्या हटाउँछौँ, सुरक्षित स्थानमा राख्छौ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई आफ्नो सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् ।


प्रधानमन्त्री शाहले यो समस्या वर्षौँदेखिको स्थायी चुनौती भएको बताउँदै यसलाई आगामी वर्षहरूका लागि थाती नराखी प्रभावित नागरिकहरूको सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले बारम्बार यस विषयमा आवाज उठाउँदै आएको पनि जनाएका छन् ।

Advertisement:

Ad
Ad


उनका अनुसार जोखिमयुक्त स्थानमा नागरिकलाई यथावत् बस्न दिँदै दुर्घटनाको प्रतीक्षा गर्नु गैरजिम्मेवार कदम हुने बताउँदै उनले सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै नागरिकको अधिकार भएको स्पष्ट पारेका छन् । साथै, यस्तो अवस्थालाई राजनीतिक लाभ र भोटको विषय बनाउनु उपयुक्त नहुने पनि उनले संकेत गरेका छन् ।


प्रधानमन्त्री शाहले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीहरूले ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुर्याएको र यसका कारण उपत्यकाका नदीहरू प्रदूषित बन्दै गएको बताएका छन् । यस समस्याको समाधानका लागि थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका जोखिमपूर्ण बस्तीहरूलाई मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।


उनले आफूले अघिल्लो राजनीतिक यात्रादेखि नै गरेका प्रतिबद्धताहरू सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । यस सन्दर्भमा देशभर रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना पनि अघि सारिएको छ ।


प्रधानमन्त्री शाहले देशभरका सुकुम्बासी समस्या र काठमाडौंका नदीकिनारका बस्तीको अवस्था फरक रहेको उल्लेख गर्दै दुवैलाई छुट्टाछुट्टै दृष्टिकोणबाट समाधान गरिने बताएका छन् । वर्षौँदेखि जटिल बनेको यो समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गर्दै उनले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन् ।