अर्थतन्त्र भन्दा निक्षेपको आकार बढी, ‘डच डिजिज’को खतरा

२०८१ मंसिर २७ गते

अर्थतन्त्र भन्दा निक्षेपको आकार बढी, ‘डच डिजिज’को खतरा

काठमाडौ । नेपालको बैंक तथा वित्तिय संस्थामा रहेको निक्षेपको आकार अहिले नेपालको कुल अर्थतन्त्रको आकार भन्दा ठुलो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले कुल ग्रार्हस्थ उत्पादनमा निक्षेपको आकार ११६ प्रतिशत पुगेको जनाएको छ ।

सबैभन्दा बढी निक्षेप नेपालका २० वटा वाणिज्य बैंकमा रहेको छ । वाणिज्य बैंकको निक्षेप मात्र जिडिपिको १०३.५५ प्रतिशत रहेको छ । विकास बैंकको जम्मा १०.५८ र फाइनान्स कम्पनीको २.३४ प्रतिशत मात्र रहेको केन्द्रिय बैंकले भनेको छ । कात्तिक मसान्तसम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप ६६ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा पनि अर्थतन्त्रको आकार कै हारहारीमा पुग्न लागेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार जिडिपिको ९२.७१ प्रतिशत प्रवाह भएको छ । कात्तिक मसान्तसम्म ५२ खर्ब ८९ अर्ब कर्जा लगानीमा गएको छ । बैंकहरु अहिले अधिक तरलताको अवस्थामा छन् । जिडिपि भन्दा निक्षेपको आकार ठुलो हुनुले नेपालको अर्थतन्त्र भन्दा वित्तिय क्षेत्रको बृद्धि धेरै भएको संकेत गर्छ । बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनशिल क्षेत्रमा नगएकै कारण जिडिपिमा कर्जा तथा निक्षेपको अनुपात निकै छिटो बढेको विज्ञहरुले बताएका छन् ।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा निक्षेपको आकार अर्थतन्त्रको आकार भन्दा ठुलो हुनु भनेको वित्तिय क्षेत्र संवेदनशील भयो भन्ने संकेत भएकोे बताए । यति ठुलो निक्षेप भएको वित्तिय क्षेत्रमा समस्या पर्ने वित्तिकै यसले समग्र अर्थतन्त्रको संरचना नै भत्काउन सक्ने खतरा रहेको थापा बताउँछन् । उनी भन्छन, ‘कर्जाको बृद्धिदर भन्दा आर्थिक बृद्धिदर कम भएको छ । बैंकका कर्जाहरु अनुत्पादनशिल क्षेत्रमा गएको छ । विदेश छोराछोरी पठाउँन बैंकबाट कर्जा लिनेहरु बढेका छन् । यसले वित्तिय क्षेत्र र राष्ट्रिय अर्थतन्त्र जोडिएन भन्ने संकेत गरेको छ ।’

पछिल्लो समय सरकार अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको भन्दै रेमिट्यान्स हेरेर रमाएको आरोप विज्ञहरुले लगाएका छन् । रेमिट्यान्सले नेपालमा ‘डच डिजिज’ भित्रिएको उनीहरुको विश्लेषण छ । अर्थशास्त्री थापा भन्छन, ‘नेपालमा रेमिट्यान्सको प्रभाव बढी भयो यसले अरु क्षेत्रलाई ध्वस्त बनायो । नेपालमा पनि डच रोग भित्रिसकेको छ । यस्तो रोगले अरु क्षेत्रलाई बढ्दै दिदैन । रेमिट्यान्स बढ्यो तर राम्रो भएन । उद्योग, सेवा क्षेत्र सबै खतम भयो ।’

यता अर्थविद् चन्द्रमणी अधिकारीले अर्थतन्त्र भन्दा निक्षेपको आकार बढी हुनु भनेको स्रोतको प्रयोग उत्पादनशिल क्षेत्रमा नभएको बताए । उनी भन्छन, ‘बैंकमा पैसा थुप्रिएको छ । स्रोतको सही सदुपयोग भएको छैन । वित्तिय क्षेत्रको स्रोत अर्थतन्त्रले पाएको छैन ।’

अर्थविद्ले भनेको डच डिजिज के हो ? ‘डच डिजिज’ शब्दको उत्पत्ति सन् १९६० को दशकमा प्राकृतिक ग्यासको प्रचुरताका कारण नेदरल्यान्डमा सम्पत्ति वृद्धि भयो तर कृषि र औद्योगिक क्षेत्रको गिरावटबाट उत्पन्न डच आर्थिक संकटबाट भएको हो । यसको प्रयोग सबभन्दा पहिले द इकोनोमिस्ट नामक जर्नलले सन् १९७७ मा गरेको थियो । अर्थतन्त्रमा विप्रेषणको अंश अत्यधिक बढ्दै गएको छ । उत्पादक क्षेत्रको हिस्सा घट्दै गएको छ । आयातमुखी अर्थतन्त्र वैदेशिक रोजगारीको बढ्दो लहर, वैदेशिक ऋण तथा सहायताको उत्पाकदत्वमा कमी भइरहेको छ । बढ्दो रेमिट्यान्सले देशको अर्थतन्त्र सखाप पारेको विश्लेषण समेत हुन थालेको छ । यसले कतै नेपालको अर्थतन्त्र ‘डच डिजिज बाट गुज्रिरहेको त छैन भन्ने शंका पैदा गरेको छ ।