२०८२ फागुन ०६ गते
काठमाडौं । जेनजी आन्दोलन पछि अर्थमन्त्रालयले गरेको करिब एक दर्जन कामको फेहरिस्त सार्वजनिक भएको छ । जेनजी आन्दोलन पछि अर्थमन्त्रालयको कार्यभार अर्थमन्त्री रामेश्वर खनालले सम्हालेका छन् । उनले कार्यभार सम्हालेपछि गरिएको कामको लिस्ट अर्थमन्त्रालयले सार्वजनिक गरेको हो ।
विशेषगरी अर्थमन्त्रालयले जेनजी आन्दोलनले थपेको अतिरिक्त आर्थिक भारको विषयमा काम गरेको छ । जेनजी आन्दोलनमा मृत्यूभएका ५३ जनालाई जनही १५ लाख रुपैयाँका दरले ७ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ भने घाइते भएका २ हजार ४ सय २९ जनालाई औषधी उपचारका लागि ३ करोड ६४ लाख ३५ हजार उपलब्ध गराएको छ ।
यस्तै वर्गीकरण भएका घाइतेले असार मसान्तसम्म आर्थिक सहायता पाउने गरी ७१ लाख १४ हजार रुपैयाँ सहायता उपलब्ध गराएको छ । जेनजी आन्दोलनको निष्पक्ष छानविनका लागि गठित जाँचबुझ आयोगलाई ४९ लाख ४५ हजार रुपैयाँ स्रोत व्यवस्थापन गरेको छ ।
आन्दोलनबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि एकिकृत व्यावसायिक पुर्नउत्थान योजना २०८२ कार्यान्वयनमा आएको छ । क्षति भएका कारागार निर्माणका लागि १२ करोड ९० लाख ७२ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
यसैगरी अर्थमन्त्रालय मातहतका निकाय पुर्ननिर्माण र सेवा सुचारु गर्न ५ करोड ८४ लाख रुपैयाँ स्रोत सहमति उपलब्ध गराएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि सवारी साधन खरिद गर्न ७८ करोड १० लाख रुपैयाँ थप स्रोत व्यवस्थापन गरेको छ ।
यसैगरी प्रहरीको भिड नियन्त्रण गर्न तथा असवाव सामाग्री खरिदका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको छ । सर्वोच्च अदालतको पुर्ननिर्माण, सवारी खरिदका लागि २९ करोड १५ लाख रुपैयाँ स्रोत सहमति दिएको छ ।
प्रतिक्रिया