२०८१ वैशाख ३० गते
काठमाडौँ । चौतर्फी आलोचनापछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले समेत आइतबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख थियो ।
पूर्वगभर्नर नेपालले १०० को नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको एमाले अध्यक्ष केपी ओलीले एमाले बुद्धिजीवी परिषद्को शनिबारको कार्यक्रममा चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया