२०८१ साउन २४ गते
काठमाडौं । अब काठमाडौंमा पानीको जार बिक्री गर्दा ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । सरकारले उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य(एमआरपी) समान कायम राख्न सूचित गरेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा पानी उत्पादक कम्पनीहरूले उस्तै प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाएर बिक्री–वितरण भएको जानकारी दिएको छ ।
पानी उत्पादक कम्पनीले होटल र रेस्टुरेन्ट तथा व्यवसायी फर्मसँग सम्झौता गरेर धेरै एमआरपी राख्ने गरेको पाइएको छ ।अब भने विभागले २० लिटर जारको अधिकतम मूल्य ४७ रुपैयाँ तोकेको छ । यससँगै एक लिटरको पानीको बोतलको मूल्य १६ रुपैयाँ निर्धारण गरिएको छ ।
तर तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ।
पानी उत्पादक कम्पनीहरूले होटल र रेस्टुरेन्टसँग सम्झौता गरेर धेरै एमआरपी राखेको पाएपछि विभागले उनीहरूलाई सचेत गराएको हो । यस्तै, विभागले एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया