२०८३ जेठ ०८ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रवार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले मनोनयन गर्दा गर्नुभएकोमा ढकालले पछि उम्मेवारी फिर्ता लिएका छन् ।
यसैगरि कोषाध्यक्ष पदमा मनिषलाल प्रधान अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी परेको थियो । महासंघको विधान–२०४९ (सातौं संशोधन सहित) को दफा २९.५ र २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिएको हो ।
६ जना केन्द्रीय सदस्य मनोनित
यसैबीच आजै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ, र सहारा जोशी रहेका थिए । महासंघको विधान धारा २९ को ९च० १० को व्यवस्था अनुसार सबै सदस्य समुहको प्रतिनिधित्व हुनेगरि कम्तीमा दुई जना महिला सहित ७ जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ ।
सोही प्रावधान बमोजिम अध्यक्ष श्रेष्ठले शुक्रबार ६ जना सदस्यहरू मनोनित गर्नु भएको हो । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी रहेको छ । नवनिर्वाचित तथा मनोनित पदाधिकारी एवं सदस्यहरूलाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा बधाई ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यवसायिक हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । उनले देशभरका उद्योगी व्यवसायीहरुका मागहरु सम्बोधन गर्दै आर्थिक समृद्धि र विकासाकालागि महासंघ सकृय रहने धारणा राखे ।
महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६० औं वार्षिक साधारण सभा तथा निर्वाचन पश्चात विधानको २९।३ को (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) व्यवस्था अनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया