२०८१ देखि २०९० साल सम्मलाई रोजगारी दशक अभियान बनाउने गरी कामहरु अघि बढाएका छौँ : श्रममन्त्री

२०८१ भदौ १८ गते

२०८१ देखि २०९० साल सम्मलाई रोजगारी दशक अभियान बनाउने गरी कामहरु अघि बढाएका छौँ : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले वैदेशिक रोजगारीसम्वन्धी समस्या टिपाउन श्रमाधान कल सेन्टर चौविसै घण्टा खुला गरिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीबाट ठगी हुन नदिन सरकारी प्रयासहरु भैरहेको बताएका हुन् ।

मन्त्रालयले वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीहरुबाट ठगी बढिरहेको भन्‍ने उजुरीहरुका आधारमा मन्त्रालय मातहतका निकायहरुबाट म्यानपावर कम्पनीहरुको अनुगमन भैरहेको जानकारी गराए । चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा व्यक्तिगत र संस्थागत गरी ४८५७ वटा उजुरी परेको छ। जसमध्ये २४१४ वटा उजुरी फर्छ्यौट भएको छ । मन्त्री भण्डारीका अनुसार देशभरका सम्बन्धित कार्यालयहरुमा परेको वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरीहरु अध्ययन गर्दा प्रमाण पुग्‍ने उजुरीहरु कमैमात्र परेको देखिन्छ ।

Advertisement:

Ad
Ad

यद्यपि विभाग र अन्तर्गत निकायहरुबाट ती उजुरीहरु उपर अनुसन्धान अघि बढाई कारवाही भइरहेको उनले बताएका छन् । हाल मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी ठगीबाट बच्नका विभिन्‍न जानकारीमूलक एवं सचेतनामूलक सूचनाहरु जारी गरिरहेका छ । अभिलेख अनुसार वैदेशिक रोजगारीमा गत वर्ष सन् २०२३ मा नयाँ र पुराना गरी जम्मा ७ लाख७१हजार जनाले श्रम स्वीकृति लिएको त्यस्तै चालु आ.व. को चैत्र मसान्त सम्ममा ५ लाख ३९हजार ६५ जनाले श्रम स्वीकृति लिएको र दैनिक सरदर २११३ जना श्रम गर्न विदेश गइरहेको देखिएको छ ।

मन्त्री भण्डारीले संसदमा बोल्ने क्रममा पर्याप्‍त आन्तरिक रोजगारीका अवसरहरु श्रृजना हुन नसकेका कारण वैदेशिक रोजगारी रहर भन्दा पनि वाध्यता वन्दै गएको बताएका छन् । उनले भने- "देशभित्र उपयुक्त रोजगारीका अवसरहरु श्रृजना गरि युवाहरुलाई स्वदेशमा नै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले वि.सं. २०८१ देखि २०९० साल सम्मलाई आन्तरिक रोजगारी दशक अभियान सञ्‍चालन गर्ने कार्यहरु मन्त्रालयले गरिरहेको छ ।"

हालैमात्र श्रम मन्त्रालयले सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्‍चालन गरी केही संख्यामा आन्तरिक रोजगारी प्रवर्द्धन कार्य गरेको थियो ।