२०८३ वैशाख ०९ गते
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसीसीआईको केन्द्रीय कमिटीको बैठक बसिरहँदा बाहिर भने प्रदर्शन चलिरहेको छ । महासङ्घले नयाँ सदस्यता वितरण र नवीकरणमा 'सिन्डिकेट' लाद्न खोजेको आरोप लगाउँदै १८ वटा विभिन्न व्यावसायिक संस्थाहरूले आज महासङ्घको टेकुस्थित केन्द्रीय कार्यालयको प्राङ्गणमा प्रदर्शन गरेका हुन्।
दिउँसो १२स्३० बजेदेखि सुरु भएको उक्त विरोध प्रदर्शनमा विभिन्न वस्तुगत तथा नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।आजको केन्द्रीय कमिटी बैठकमा मुख्य कार्यसूचीका रूपमा ती १८ वटा नयाँ संस्थाहरूलाई सदस्यता प्रदान गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुँदैछ। प्रदर्शनमा उत्रिएका व्यवसायीहरुका अनुसार सबै कानुनी प्रक्रिया पूरा गर्दा पनि नेतृत्वले राजनीतिक आस्था वा आगामी निर्वाचनको जोडघटाउका आधारमा सदस्यता रोक्न खोजेको छ।
लामो समयदेखि निवेदन दिए पनि कार्यसमितिले निर्णय लिन आलटाल गरेको,केही संस्थालाई प्रक्रिया छोट्याएर सदस्यता दिइएको तर १८ संस्थालाई मात्र 'होल्ड'मा राखिएको,लोकतान्त्रिक अधिकारको हननस् महासङ्घलाई समावेशी बनाउनुको साटो केही सीमित व्यक्तिको घेराभित्र राख्न खोजिएको जस्ता आरोप लगाइएको छ ।
प्रदर्शनका क्रममा व्यवसायीहरूले 'महासङ्घ कसैको निजी पेवा होइन', 'नियम पुगेका संस्थालाई तत्काल सदस्यता देऊ'र 'व्यावसायिक एकता कायम गर' जस्ता नाराबाजी गरेका छन्।
उच्च अदालत पाटनले सदस्यता विवाद टुङ्ग्याएर मात्रै साधारण सभा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशपछि गत चैत २९ र ३० गते हुने भनिएको साधारण सभा स्थगित भएको थियो । महासङ्घको सदस्यता सिफारिस समितिले १८ ओटै वस्तुगत सङ्घलाई सदस्यता दिन नसकिने कारणसहित प्रतिवेदन बुझाईसकेको छ ।
महासङ्घले यही वैशाख २१ र २२ गते साधारण सभा गर्ने तयारी गरेको छ । सदस्यता विवाद भने कायमै छ । यसरी सदस्यताको टुंगो नलागे अगाडि बढ्न नसक्ने कुरा उठाउँदै यदि अगाडि बढे पुनः अदालत जाने कुरा १८ का सदस्यहरु बताउँछन् ।
प्रतिक्रिया