२०८३ जेठ ०७ गते
काठमाडौँ । अमेरिकाको संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ। सांसदमा भएको मतदानमा चार जना रिपब्लिकन सांसदले पनि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरूलाई समर्थन गरेका थिए, जबकि तीन रिपब्लिकन सांसद मतदानमा सहभागी भएनन्।
यो प्रस्ताव ५०-४७ मतले पारित भएको हो। तर कानुन बन्नुअघि यसले अझै केही चरण पार गर्नुपर्ने छ। यदि यो प्रस्ताव कानुन बन्यो भने ट्रम्प प्रशासनले इरान विरुद्ध युद्ध जारी राख्न कांग्रेसको अनुमति लिनुपर्ने बाध्यात्मक अवस्था आउनेछ।
अहिले यसबारे सिनेटमा अन्तिम मतदान हुन बाँकी छ। त्यसपछि रिपब्लिकन बहुमत रहेको ‘युनाइटेड स्टेट्स हाउस अफ रिप्रिजेन्टेटिभ’ बाट पनि अनुमोदन लिनुपर्ने छ। त्यसपछि पनि ट्रम्पले यसलाई भिटो प्रयोग गर्न सक्छन्। यदि त्यसो भयो भने भिटो रद्द गर्न सिनेट र हाउस दुवैमा दुई(तिहाइ बहुमत आवश्यक पर्छ, जुन अहिले कठिन मानिएको छ।
यो मतदान विपक्षका लागि ठूलो सफलता मानिएको छ। विपक्षी नेताहरूले अमेरिकामा युद्ध सुरु गर्ने वा सेना पठाउने अधिकार राष्ट्रपति होइन, संसदसँग हुनुपर्ने बताएका छन्। अमेरिकी संविधानमा पनि त्यही व्यवस्था उल्लेख छ।
यो प्रस्ताव टिम काइनीले ल्याएका हुन्। बहसका क्रममा उनले भने, अहिले युद्धविरामको कुरा भइरहेको अवस्थामा ट्रम्पले संसदसमक्ष आएर आफ्नो रणनीति स्पष्ट गर्नुपर्छ। उनले भने, ‘युद्ध सुरु गर्ने अधिकार संसदसँग छ, केवल राष्ट्रपतिसँग होइन।’
उता ह्वाइट हाउसले भने ट्रम्पले अमेरिकी सुरक्षाका लागि आफ्नो अधिकारअन्तर्गत कदम चालेको दाबी गरेको छ। अमेरिकी कानुनअनुसार कुनै पनि राष्ट्रपतिले संसदको अनुमति बिना अधिकतम ६० दिनसम्म मात्रै सैन्य कारबाही सञ्चालन गर्न सक्छन्। त्यसपछि या त युद्ध अन्त्य गर्नुपर्छ, वा कांग्रेसबाट अनुमति लिनुपर्छ, अथवा सेना सुरक्षित फिर्ताका लागि थप ३० दिनको समय माग्नुपर्छ।
प्रतिक्रिया