२०८३ वैशाख ०४ गते
काठमाडौँ । देशभित्र पर्याप्त रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीतर्फ जाने नेपाली युवाको संख्या अझै घट्न सकेको छैन। वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा मात्रै पुनः श्रम स्वीकृति लिएर विदेश फर्किनेको संख्या नयाँ जानेभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ।
विभागको तथ्यांकअनुसार चैतमा २ लाख ९३ हजार २५७ जनाले दोहोर्याएर श्रम स्वीकृति लिएका छन्, जबकि पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या १ लाख ९६ हजार ७७८ रहेको छ। विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार “पहिलो पटक जानेभन्दा फर्किएर फेरि जानेहरुको संख्या धेरै देखिएको छ।”
चैत महिनाभरि व्यक्तिगत, मेनपावर, पुनःप्रवेश, जीटूजी तथा कानुनीकरण शीर्षकमा गरी कुल ५ लाख ८७ हजार ३२२ जनाले श्रम स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तथा भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले विभागमा सुधारका प्रयासहरू अघि बढाएको छ। महानिर्देशक मिरा आचार्यको नेतृत्वमा श्रमिकको हकहित संरक्षणमा विशेष ध्यान दिइएको छ भने श्रम स्वीकृति प्रक्रिया पनि सहज बनाइएको छ। आवश्यक कागजातसहित निवेदन दिएमा सोही दिन स्वीकृति प्राप्त हुने व्यवस्था गरिएको छ।
यता चैत महिनामा वैदेशिक रोजगारीसम्बन्धी ठगीका २१३ वटा उजुरी परेका थिए, जसमध्ये ११९ वटा उजुरीमा निर्णय भइसकेको छ। साथै, विभागले दुई वटा अभिमुखीकरण तालिम कम्पनीको लाइसेन्स रद्द गरेको छ भने बिना लाइसेन्स सञ्चालनमा रहेका दुई कम्पनीको कारोबार बन्द गराएको छ।
फागुनमा निर्वाचन सम्पन्न भई चैतमा नयाँ सरकार गठन भए पनि रोजगारीका लागि विदेश जानेको क्रम भने अझै रोकिएको देखिँदैन, जसले देशभित्र रोजगारी सिर्जनाको चुनौती अझै गम्भीर रहेको संकेत गर्दछ।
प्रतिक्रिया