२०८२ मंसिर ०८ गते
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई नियुक्त गरेको आरोपप्रति प्रधानमन्त्रीको सचिवालयले प्रतिक्रिया दिएको छ। सचिवालयले प्रमुख स्वकीय सचिवमाथि लगाइएका आरोपहरु तथ्यहीन रहेको र थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदारी जोडिएको भन्दै आपत्ति जनाएको छ।
विवाद बढेपछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा सुरक्षा कारणले प्रधानमन्त्रीसँग नजिक रहेर चौबीसै घण्टा खटिनसक्ने, भरपर्दा व्यक्तिको कानुनअनुसार नियुक्ति गरिएको स्पष्ट गरिएको छ। साथै यो विषयलाई अनावश्यक विवाद बनाइएको उल्लेख छ।
सचिवालयले प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा प्रतिबद्ध रही न्यूनतम जनशक्तिबाट सचिवालय सञ्चालन गरेको जनाएको छ। कार्यविधिअनुसार ६७ पद रहने भए पनि हाल २० जनामात्र कार्यरत रहेको सचिवालयको दाबी छ।
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि सहसचव सरहको सुविधा दिने गरी सचिवालय कर्मचारीमा नियुक्ती दिएको विषयमाथि टीकाटीप्पणीहरु भैरहेका छन् । यसै विषयमाथि आजै मात्र जेनजी फ्रन्टले विज्ञप्ति जारी गरी तत्काल आदर्शलाई पदमुक्त गर्न र उनको श्रीमतीको नियुक्ती बदर गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया