२०८३ साउन २० गते
काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको एक भाग चन्द्रमामा ठोक्किएपछि त्यहाँ नयाँ खाडल बनेको पुष्टि भएको छ। करिब चार टन तौल र बस जत्रै आकारको उक्त रकेटको दोस्रो चरण बुधबार आइन्स्टाइन क्रेटर आसपासको क्षेत्रमा उच्च गतिमा खस्दा चन्द्रमाको सतहमा नयाँ प्रभाव क्षेत्र बनेको हो।
स्वतन्त्र खगोलविद् तथा अन्तरिक्ष निगरानी निकायका अनुसार सन् २०२५ को सुरुआतमा प्रक्षेपण गरिएको रकेटको यो भाग करिब ८ हजार ७ सय किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमामा ठोक्किएको थियो। यसको प्रभाव करिब तीन टन टीएनटी विस्फोट बराबर रहेको अनुमान गरिएको छ।
सामान्यतया यस्ता रकेटका अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर यसपटक सूर्य, पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणका कारण करिब १८ महिनासम्म कक्षामा भौतारिएको उक्त अवशेष अन्ततः चन्द्रमासँग ठोक्किएको बताइएको छ। स्पेसएक्सले यो घटना योजनाबद्ध नभएको र उपलब्ध इन्धनका कारण यसको मार्ग परिवर्तन गर्न नसकिएको स्पष्ट पारेको छ।
घटनापछि नासाको लुनार रिकोनाइसन्स अर्बिटर (एलआरओ) र दक्षिण कोरियाको डानुरी अन्तरिक्षयानले ठोक्किएको क्षेत्रको विस्तृत अध्ययन सुरु गरेका छन्। यी अन्तरिक्षयानले नयाँ बनेको खाडल, उडेको धुलो र सतहमा आएको परिवर्तनका उच्च गुणस्तरका तस्बिर संकलन गर्नेछन्।
अन्तरिक्ष विज्ञ बिल ग्रेले यस घटनाले तत्काल कुनै जोखिम नल्याए पनि अन्तरिक्षमा बढ्दो रकेट तथा अन्य भग्नावशेषको उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
चन्द्रमामा परित्यक्त रकेटको अवशेष दुर्घटनावश ठोक्किएको यो दोस्रो घटना हो। यसअघि सन् २०२२ मा चिनियाँ लङ मार्च–३सी रकेटको अवशेष चन्द्रमाको सतहमा खस्दा दोहोरो खाडल बनेको थियो।
प्रतिक्रिया