सोपान फर्मास्युटिकल्सको आईपीओ खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन मिल्ने

२०८३ वैशाख ०३ गते

सोपान फर्मास्युटिकल्सको आईपीओ खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन मिल्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ खुला गरेको हो।

 

Advertisement:

Ad
Ad

कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गरिएको हो। प्रति कित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता शेयरमध्ये केही हिस्सा छुट्याएर बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको छ।

 

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। त्यस्तै ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। यी सबै भाग छुट्याएपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

 

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिंदा प्रति कित्ता १०० रुपैयाँका दरले पूरा रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। आईपीओ छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा मात्रै ढिलो मितिसम्म खुला रहनेछ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि-आस्बा मार्फत पनि आवेदन दिन सकिनेछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।