२०८३ वैशाख ०२ गते
काठमाडौं । नेपाल सरकारले इजरायलसहित चार मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा तनाव केही कम भएपछि यसअघि रोक लगाइएको पुनः श्रम स्वीकृति पुनः सुरु गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको जनाएको छ। यी देशहरूमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः फर्किन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको हो।
यसअघि अस्थिरता बढेसँगै नेपाल सरकारले २०८२ फागुन १७ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की लगायतका देशहरूसँगै इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै स्थगित गरेको थियो। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको थियो।
पछि परिस्थिति केही सहज बन्दै गएपछि २०८२ चैत ३ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति खुला गरिएको थियो। अब बाँकी रहेका चार मुलुकमा पनि परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) को सिफारिसका आधारमा पुनः स्वीकृति खुला गरिएको हो।
यद्यपि, नयाँ श्रम स्वीकृति भने तत्काल खुला गरिएको छैन। सम्बन्धित देशहरूको सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै नयाँ कामदार पठाउने प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
इराकका हकमा भने यसअघिकै निर्णयअनुसार छुट्टै प्रक्रिया लागू रहने वैदेशिक रोजगार विभागले जनाएको छ।
प्रतिक्रिया