अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

२०८३ साउन २० गते

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

महेन्द्रनगर। कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ ।

पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।

Advertisement:

Ad
Ad

खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्ने उद्देश्यले स्कुटर आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रिय भएको बताए । उनले भने, “यहाँ बुझाइएका स्कुटर कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिनेछ । नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको छ ।

यस्तै, भित्रिएका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिनेछ ।” उनका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा आयात गरिएका इलेक्ट्रिक स्कुटरमाथि कडाइ गरिएको बताए । उनले भने, “भन्सार छलेर ल्याइएका तथा दर्ता नगरी चलाइएका स्कुटरका कारण दुर्घटनाको जोखिम बढेको छ । सबै इलेक्ट्रिक स्कुटरलाई दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाइँदैछ ।”

नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बिक्री बढ्दो क्रममा छ तर कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी सञ्चालन गरिएका स्कुटर बढ्दै गएपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । लाखौँ रुपैयाँ मूल्य पर्ने यस्ता स्कुटर अवैध रूपमा भित्र्याई दर्ताविना सञ्चालन गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानीलाई थप प्रभावकारी बनाएको छ ।