मंसिर मसान्तसम्म सरकारको राजश्व ४ खर्ब ९ अर्ब ७८ करोड संकलन

२०८२ पुस ०१ गते

मंसिर मसान्तसम्म सरकारको राजश्व ४ खर्ब ९ अर्ब ७८ करोड संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम मंसिरसम्मको लक्ष्यको ७८.७४ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ उठाउने लक्ष्य थियो। तर, मंसिर २९ गतेसम्मको वास्तविक संकलन उक्त लक्ष्यभन्दा करिब १ खर्ब १० अर्ब रुपैयाँ कम रहेको छ।

Advertisement:

Ad
Ad

मंसिर महिनामा मात्रै ८० अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो मंसिर महिनाका लागि तय गरिएको ९५ अर्ब २० करोड रुपैयाँ लक्ष्यको ८४.३१ प्रतिशत हो। मंसिर २९ गते एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको विभागीय तथ्यांकमा उल्लेख छ।

तुलनात्मक रूपमा, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले वार्षिक रूपमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। सो वर्ष मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो। अघिल्लो वर्ष मंसिर महिनामा मात्रै ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा मंसिरसम्मको राजस्व संकलन बढे पनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनामा राजस्व संकलनको गति थप बढाउनुपर्ने देखिएको छ।