२०८३ वैशाख ०३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंग्याएको छ । बिहीबार संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथगा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य निर्देशक सिद्धान्तमा गणेश कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल उम्मेदवार बन्ने भएका छन् ।
यस्तै, संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, अर्थ समितिमा कृष्णहरी बुढाथोकी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिमा ओजस्वी शेरचनलाई सभापतिको उम्मेदवार बनाउनेछ ।
सार्वजनिक लेखा समितिको सभापतिमा भने कांग्रेसलाई दिने तयारी भइरहेको छ । सो समितिको सभापति प्रमुख प्रतिपक्ष दल रहने अभ्यास छ ।
समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ । आजै समितिका सभापतिहरूको मनोनयन हुनेछ ।
प्रतिक्रिया