सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१४ जना घाइते

२०८३ वैशाख ०६ गते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१४ जना घाइते

सल्यान।  सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथाला स्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शनिबार साँझ थाराबाट कालिमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लु।प्र।०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement:

Ad
Ad

जिप बनगाड कुपिण्डे नगरपालिका–८ बस्ने ३८ वर्षीय कुल बहादुर रानाले चलाएका थिए । दुर्घटनामा परेर बनगाड कुपिण्डे नगरपालिका–८ निवासी टोप बहादुर थापा, ठगे घर्ती र कर्ण बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिएका छन् ।

घटनामा चालकसहित अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा उद्धार गरेका थिए । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो ।

साथै जिल्ला प्रहरी कार्यालय सल्यानबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । घाइतेमध्ये केहीलाई उद्धार गरी मेहेलकुना अस्पताल, सुर्खेत पठाइएको छ भने अन्यको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।