२०८३ असोज २२ गते
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड (RLEL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि एक दिन बुकक्लोज गर्ने भएको छ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभाले १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
प्रतिक्रिया