२०८३ वैशाख १५ गते
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उनले पछिल्लो समय प्लस-टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने गरी ल्याउन खोजिएका प्रतिबन्धात्मक नीतिहरूले समस्याको समाधान नगर्ने बताएका हुन् ।
खनालले भने, ‘हामीले यो विषयलाई अत्यन्तै मिहिन ढंगले हेरिरहेका छौं । सिक्नका लागि आफ्नो स्थान छोडेर बाहिर जाने परम्परा हाम्रो सभ्यता र संस्कृतिको अभिन्न अङ्ग हो ।’ उनले वर्तमान प्रधानमन्त्री भारतमा पढेको र अर्थमन्त्रीसँग अमेरिका, बेलायत र अस्ट्रेलियाका डिग्री रहेको उदाहरण दिँदै राज्यका उच्च पदस्थ व्यक्तिहरूको प्रोफाइलले नै वैदेशिक शिक्षाको महत्त्व झल्काउने बताए ।
खनालले परराष्ट्र मन्त्रालय र सरकारी संयन्त्रभित्र प्लसटु पछि विदेश जान रोक लगाउने गरी भइरहेका छलफलप्रति असहमति जनाए । ‘के प्रतिबन्ध नै सही विकल्प होरु वा विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्ने भन्नेतर्फ सोच्ने ?’ भन्दै उनले प्रश्न गरे ।
नेपाली सार्वजनिक प्रशासनमा रहेको ‘घमण्ड’ का कारण विदेशमा पढेका र नयाँ सोच भएका युवाहरूलाई प्रणालीभित्र छिर्न गाह्रो भएको उनको सुनाए । ‘लोकसेवा पास गर्नुलाई मात्र सर्वोपरि ठान्ने हाम्रो प्रणालीले नयाँ युवा र नवीन सोचलाई इन्टर्नसिपको समेत मौका दिँदैन,’ उनले भने । उनले आफ्नै पहलमा विदेशमा पढिरहेका नेपाली विद्यार्थीहरूलाई नेपालका सरकारी निकायमा इन्टर्नसिप गराउने कार्यक्रमको तयारी भइरहेको जानकारी समेत दिए ।
विश्वविद्यालयको बेथिति र आर्थिक चुनौती
नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर अनिश्चित हुनु नै विद्यार्थी पलायनको मुख्य कारण रहेको खनालको विश्लेषण छ । ‘संसारभरका विश्वविद्यालयको शैक्षिक क्यालेन्डर निश्चित हुन्छ, तर नेपालमा १३ वटा विश्वविद्यालय हुँदा पनि परीक्षा र नतिजाको कुनै पत्तो हुँदैन । चार वर्षको कोर्स ६ वर्ष लाग्ने भएपछि विद्यार्थीले अस्ट्रेलिया वा अन्य देश रोज्नु स्वभाविक हो,’ उनले बताए ।
नेपालमा उच्च दक्ष जनशक्ति (जस्तै : क्यान्सर अनुसन्धानकर्ता) फर्किन चाहे पनि यहाँ उचित ल्याब, प्रविधि र उद्योग नहुँदा उनीहरूलाई ुनफर्कु भन्नुपर्ने बाध्यता रहेको उनले सुनाए । देशमा आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा न्यून रहनु र निजी क्षेत्र संकुचित हुनुले पनि रोजगारी सिर्जनामा बाधा पुगेको उनको भनाइ छ ।
नेपाललाई शैक्षिक केन्द्र बनाउने भिजन
खनालले नेपाललाई विश्वस्तरीय शिक्षाको केन्द्र (एजुकेसन हब) बनाउन सकिने सम्भावना औंल्याए । ‘पोखराको माछापुच्छ्रेको काखमा विश्वका उत्कृष्ट विश्वविद्यालयका क्याम्पसहरू किन हुन सक्दैनन्र’ भन्दै उनले प्रश्न गरे । माल्दिभ्स, श्रीलंका र बंगलादेशका विद्यार्थीलाई नेपालको मेडिकल शिक्षामा आकर्षित गर्न सके र विदेशी विश्वविद्यालयलाई नेपाल ल्याउन सके यसले रिसर्च, इनोभेसन र रोजगारीको ठूलो चक्र निर्माण गर्ने उनको विश्वास छ ।
अन्त्यमा, खनालले युवाहरूलाई अबको १०-२० वर्षपछिको नेपाल र विश्व कस्तो हुन्छ भन्ने सोचेर काम गर्न आग्रह गर्दै सरकारले पनि विदेशमा रहेका नेपाली र विदेशी दुवैलाई नेपाल ल्याउने ‘ब्रिज’ निर्माण गर्नुपर्नेमा जोड दिए
प्रतिक्रिया