प्रोभिजनिङ घटेसँगै कुमारी बैंकको नाफामा छलाङ, नाफासँगै प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार

२०८३ वैशाख १५ गते

प्रोभिजनिङ घटेसँगै कुमारी बैंकको नाफामा छलाङ, नाफासँगै प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार

काठमाडौं । कुमारी बैंकको नाफामा वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले मात्र २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

Advertisement:

Ad
Ad

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्ष चैतसम्म बैंकले ७ अर्ब ८९ करोड ६५ लाख ब्याज आम्दानी गरेकोमा यस वर्ष चैतसम्म ९ अर्ब ३० करोड २२ लाख पुगेको छ । कुल सञ्चालन आम्दानी पनि १० अर्ब ४९ करोड ५९ लाख बढेर १२ अर्ब ८१ करोड ३० लाख पुगेको छ ।

 

यता कर्जा नोक्सानी व्यवस्थाको रकम ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । यसले बैंकको सञ्चालन मुनाफासँगै खुद मुनाफा बढाउन ठूलो सहयोग पुर्‍याएको देखिन्छ । बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । बैंकले चैत मसान्तसम्म कुल ३ खर्ब ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा निक्षेपमा ४.६६ प्रतिशत र कर्जामा ४।९१ प्रतिशतको वृद्धि भएको छ । असार मसान्तमा बैंकको निक्षेप ३ खर्ब ६४ अर्ब ६३ करोड र कर्जा २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार भएर २१ रुपैयाँ २४ पैसा पुगेको छ । हाल बैंकको खराब कर्जा ६.९४ प्रतिशत रहेको छ भने नेटवर्थ प्रतिसेयर १५८ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात सुधार भई ९.१२ प्रतिशत पुगेको छ ।