२०८२ मंसिर ०८ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नै परिवार र नातेदारलाई जागिर दिएको विषयमा नेपाल जेनजी फ्रन्टले कडा आपत्ति जनाएको छ। फ्रन्टले प्रधानमन्त्रीलाई पाँच बुँदे मागसहित ज्ञापन पत्र बुझाउँदै आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न र उनले गराएका नियुक्ति रद्द गर्न आग्रह गरेको छ।
‘सुशासन र पारदर्शिताको नाममा बनेको सरकारले नातागोता र पक्षपातमा आधारित नियुक्ति कसरी गर्न सक्यो रु’ भन्दै फ्रन्टले प्रधानमन्त्री कार्यालयबाट तत्काल स्पष्टीकरण र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिवको तलब–सुविधासहित स्वकीय सहसचिव बनाएका छन्। त्यस्तै, नातेदार कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिवमा नियुक्त गरिएको छ। दुवै जनाको नियुक्ति असोज २ गते एकै दिन गरिएको बताइएको छ।
सुशीला कार्की प्रधानमन्त्री बनेपछि एक साताभित्रै यी नियुक्तिहरू भएका हुन्। सोही दिन नासु तहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई पनि नियुक्त गरिएको थियो।
आदर्श कुमार श्रेष्ठ स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारीका रूपमा कार्यरत थिए र सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्चमै काम गर्थे।
प्रतिक्रिया