२०८३ वैशाख ०३ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम पत्रिकाले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा शाहको नाम पनि समेटिएको हो।
टाइम पत्रिकाले उनलाई नेताहरूको वर्गमा राख्दै नेपालको प्रमुख राजनीतिक नेतृत्वकर्ताका रूपमा उल्लेख गरेको छ। पत्रिकाले ३६ वर्षीय शाहलाई पूर्व हिपहप कलाकार र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवा पुस्ताको व्यापक समर्थन र पुराना राजनीतिक नेतृत्वप्रतिको असन्तोषका कारण उनले ठूलो विजय हासिल गरेको उल्लेख गरिएको छ। यस वर्षको सूचीमा शाहसँगै विश्वका विभिन्न मुलुकका प्रभावशाली नेताहरू, व्यवसायी, कलाकार र खेलाडीहरू पनि समावेश छन्। राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुजस्ता नामहरू उल्लेख छन्।
व्यापार र प्रविधि क्षेत्रमा गुगलका सुन्दर पिचाई, अर्बपति माइकल डेल, डेभिड एलिसन र टेस्ला तथा स्पेसएक्ससँग सम्बन्धित ग्विन शटवेल पनि सूचीमा परेका छन्।
कला र मनोरञ्जनतर्फ रणवीर कपूर, जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र गायक ल्युक कोम्ब्स समावेश छन्। खेलकुद क्षेत्रबाट स्कटी शेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जाल व्यक्तित्व मिस्टर बिस्ट पनि सूचीमा परेका छन्।
प्रतिक्रिया