कोरियन प्रविधि, नेपाली उत्पादनः ३५ करोड लगानीमा ‘ओरा’ को स्किन केयर उद्योग, विश्व बजारमा पुग्ने लक्ष्य

२०८३ जेठ २७ गते

कोरियन प्रविधि, नेपाली उत्पादनः ३५ करोड लगानीमा ‘ओरा’ को स्किन केयर उद्योग, विश्व बजारमा पुग्ने लक्ष्य

काठमाडौँ । नेपालको सौन्दर्य तथा स्किन केयर उद्योगमा नयाँ सम्भावना थप्दै ‘ओरा’ ब्रान्डले कोरियन विज्ञान, अनुसन्धान र प्रविधिलाई नेपाली उत्पादनसँग जोडेर विश्वस्तरीय स्किन केयर सामग्री उत्पादन गरिरहेको छ।

 

Advertisement:

Ad
Ad

NK कस्मेटिक्स प्रालिले उत्पादन गरिरहेको ‘ओरा’ नेपाली ब्रान्ड हो, जसले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्किन केयर उत्पादन नेपाली उपभोक्तासम्म किफायती मूल्यमा पुर्‍याउने लक्ष्य राखेको छ। कम्पनीले ललितपुरको इमाडोलमा करिब ३५ करोड रुपैयाँको लगानीमा आधुनिक उद्योग स्थापना गरेको जनाएको छ।

 

हाल कम्पनीले ९ प्रकारका उत्पादन बजारमा ल्याइसकेको छ भने निकट भविष्यमा थप १० देखि १५ नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार उद्योगको पूर्ण क्षमतामा १०० भन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्न सकिनेछ।

 

नेपाली तथा कोरियन उद्यमीहरूको संयुक्त सहकार्यमा स्थापना भएको कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष विनोद कुँवरले गरिरहेका छन्। कोरियन स्किन केयर उद्योगका अनुभवी विज्ञ जे हो उरले उत्पादन विकास तथा प्राविधिक पक्षमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

 

कम्पनीले नेपाललाई गुणस्तरीय स्किन केयर तथा कस्मेटिक्स उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। दक्षिण एशियादेखि विश्व बजारसम्म ‘ओरा’लाई प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने योजना कम्पनीको छ।

 

हाल कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ र बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कार्यरत छन्। उद्योग विस्तारसँगै रोजगारी सिर्जना, सीप विकास, राजस्व वृद्धि तथा भविष्यमा निर्यात प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले जनाएको छ।

 

कम्पनीका उत्पादनहरू देशभरका अधिकृत वितरक, होलसेल तथा खुद्रा पसलका साथै विभिन्न अनलाइन प्लेटफर्ममार्फत उपलब्ध छन्। विगत चार महिनामा लाखौं उपभोक्तासम्म पुग्न सफल भएको कम्पनीले उपभोक्ताबाट प्राप्त विश्वास र सकारात्मक प्रतिक्रियाले थप उत्साहित बनाएको जनाएको छ।

 

ओराले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री परीक्षा लिम्बूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। कम्पनीका अनुसार उहाँको लोकप्रियता र सकारात्मक छविले ब्रान्डलाई थप व्यापक रूपमा उपभोक्तामाझ पुर्‍याउन सहयोग पुग्नेछ।

 

कम्पनीले ‘ओरा’लाई केवल स्किन केयर उत्पादनको ब्रान्ड मात्र नभई गुणस्तर, विश्वास र आत्मविश्वासको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विदेशी उत्पादनमा निर्भरता घटाउँदै नेपालमै अन्तर्राष्ट्रियस्तरका उत्पादन उपलब्ध गराउने अभियानलाई कम्पनीले आगामी दिनमा अझ सशक्त बनाउने बताएको छ।