बैंकिङ प्रणालीबाट १ खर्ब २० अर्ब झिक्दै राष्ट्र बैंक

२०८३ वैशाख ११ गते

बैंकिङ प्रणालीबाट १ खर्ब २० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंक फेरि सक्रिय बनेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ठूलो रकम तान्ने तयारी गरेको हो। यसै क्रममा आज वैशाख ११ गते, राष्ट्र बैंकले एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ बराबरको तरलता प्रणालीबाट झिक्ने घोषणा गरेको छ। यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।

 

Advertisement:

Ad
Ad

यस बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम सीमा कुल आह्वान रकमभित्र पर्नेगरी तोकिएको ढाँचामा प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार, निक्षेप संकलन ब्याजदर प्रतिस्पर्धात्मक (बोलकबोल) आधारमा निर्धारण हुनेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्ने सुविधा पनि उपलब्ध रहनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

 

उक्त निक्षेप संकलन उपकरणको अवधि १९ दिनको रहनेछ, जसअनुसार वैशाख ३० गते साँवा तथा ब्याज एकैपटक भुक्तानी गरिनेछ।