२०८२ चैत २७ गते
काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार बनेको दुई साता पुग्न लाग्दा पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंक फेरि बोलकबोलमार्फत पैसा खिच्न लागेको हो।
आर्थिक गतिविधि सुस्त रहँदा र पछिल्लो समयको ‘जेनजी’ आन्दोलनका कारण कर्जा प्रवाह बढ्न नसकेको अवस्था छ। तत्काल कर्जा विस्तार नहुने आकलनका बीच बैंकहरूले निक्षेप बढाउन चासो नदेखाउँदै ब्याजदर घटाएका छन् र मुद्दती निक्षेप निरुत्साहित बनाएका छन्।
हाल कुल निक्षेप ७८ खर्ब नाघिसकेको छ। अधिक तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। कम ब्याजदर बोल्ने प्रस्तावलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। अनलाइन प्रणालीमार्फत हुने बोलकबोलबाट ब्याजदर निर्धारण हुनेछ भने संकलित रकमको सावाँ–ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ।
न्यूनतम १० करोड रुपैयाँबाट बोलकबोल गर्न पाइनेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा सीमित हुनेछ। खुला बजार कारोबार कार्यविधिअनुसार दीर्घकालीन तरलता बढी हुँदा राष्ट्र बैंकले बढीमा ६ महिनासम्मका निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ, जसअनुसार पछिल्लो समय यस्तो उपकरण बारम्बार प्रयोग हुँदै आएको छ।
प्रतिक्रिया