२०८३ वैशाख ०३ गते
काठमाडौं। निजी क्षेत्रमा अनावश्यक सरकारी दबाब र हस्तक्षेपका कारण निजी क्षेत्रको आत्मविश्वास कमजोर बन्दै जाने व्यवसायीहरुले तर्क गरेका छन् ।
चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष एवं व्यसायी राजेन्द्र मल्लले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग निजी क्षेत्रको आर्थिक कारोबार र व्यवसायीमाथि धरपकडमा उत्रिँदा व्यवसायीको मनोबल कमजोर बनेको बताएका छन् । उनले अख्तियारको कार्यक्षेत्रलाई स्पष्ट रूपमा सार्वजनिक पदाधिकारी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रसँग सम्बन्धित विषयहरूमा अत्यधिक हस्तक्षेप हुँदा व्यवसाय सञ्चालनमा जटिलता बढ्ने र उद्यमशीलता निरुत्साहित हुने अवस्था सिर्जना भएको उनले बताए।
व्यापारीहरूले आर्थिक क्षेत्र, उद्योग–व्यवसाय तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित विषयहरूलाई सहज, पारदर्शी र व्यवसायमैत्री ढंगले व्यवस्थापन गर्नुपर्नेमा मल्लले जोड दिएका छन्। यस्ता विषयहरूलाई सम्बन्धित नियामक निकायमार्फत व्यवस्थित गर्दा मात्र प्रभावकारी नियमन सम्भव हुने उनको धारणा छ।
हाल कर प्रशासन र वित्तीय अनुशासन कायम गर्न कर कार्यालय तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता निकायहरू सक्रिय रहेको उल्लेख गर्दै, नियम उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने पर्याप्त संयन्त्र पहिले नै विद्यमान रहेको व्यवसायिक समुदायको भनाइ छ। त्यसैले, दोहोरो निगरानी र अनावश्यक हस्तक्षेपको सट्टा स्पष्ट जिम्मेवारी बाँडफाँड आवश्यक रहेको उनीहरूले औंल्याएका छन्।
प्रभावकारी नियमन, नीतिगत स्पष्टता र पारदर्शिता कायम गर्न सकेमा निजी क्षेत्रको आत्मविश्वास बढ्नेछ। यसले नयाँ लगानी आकर्षित गर्न, उत्पादनमूलक गतिविधि विस्तार गर्न तथा समग्र अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य, विश्वास र स्पष्ट कार्यविभाजन अपरिहार्य बनाउनपर्नेमा निजी क्षेत्र एकमत भएको छ ।
प्रतिक्रिया