नेप्सेमा गिरावट कायम, कारोबार रकम पनि घट्यो

२०८३ वैशाख १० गते

नेप्सेमा गिरावट कायम, कारोबार रकम पनि घट्यो

काठमाडौँ। सेयर बजारमा गिरावटको दबाब बिहीबार पनि कायम रह्यो। पछिल्ला केही दिनदेखि ओरालो लाग्दै आएको नेप्से परिसूचक यस दिन पनि घट्दै २८०० विन्दुभन्दा तल झरेर बन्द भएको छ। बिहीबार नेप्से १७.०१ अंकले घट्दै २७८७.१५ विन्दुमा आइपुगेको हो। करिब दुई हप्ता पछि बजार पुनः २८०० को मनोवैज्ञानिक स्तरभन्दा तल आएको हो। 

 

Advertisement:

Ad
Ad

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार भने ५ अर्ब रुपैयाँ आसपासमा सीमित रह्यो। कुल ३४८ कम्पनीका करिब ९४ हजार पटकको कारोबारमा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

 

यद्यपि बजार समग्रमा घट्दा पनि केही कम्पनीका लगानीकर्ताले राम्रो कमाएका छन्। पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। अर्कोतर्फ, केही दिनदेखि लगातार उकालो लागिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक भने यस दिन सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ।

 

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहँदा यसले ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत र होटल फरेष्ट इन पनि उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्। उपसमूहगत विश्लेषण गर्दा अधिकांश समूहमा दबाब देखिएको छ। १३ मध्ये ११ समूह घटेका छन् भने उत्पादन–प्रशोधन र व्यापार समूह मात्र सामान्य हरियो देखिएका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै घट्दा वित्त, जलविद्युत र निर्जीवन बीमा समूहमा पनि उल्लेख्य गिरावट आएको छ।