२०८२ पुस १९ गते
काठमाडौँ । काठमाडौँका बजारमा पछिल्ला केही समययता नक्कली नोटहरु फेला पर्न थालेका छन् ।धेरै जसो कपडा पसलमा यस्ता नोटहरु देखिन थालेपछि प्रहरीले अनुसन्धानका क्रममा संकास्पद केहीलाई नियन्त्रणमा लिएको छ ।अनुसन्धानका क्रममा नक्कली नोट छाप्ने मेशिन फेला नपारेको हुँदा पैसा भारतमा छापिने र खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले नेपाल भित्र्याउने गरेको प्रहरीको प्रारम्भिक बुझाई छ ।
नक्कली नोट कसरी चिन्ने?
बजारमा नक्कली नोट जो कोहीले सजिलै पत्ता लगाउन नसक्ने भएपनि छाम्दा र गहिरिएर हेर्दा भने अलिक फरक हुने प्रहरीको भनाई छ ।संकास्पद लागेर कसैले उजुरी दिएमा प्रहरीले राष्ट्र बैंकसँग समन्वय गर्छ।
राष्ट्र बैंकले नोटलाई दुरुस्त चोर्न नसकून भनेर विभिन्न सुरक्षा उपायहरू अपनाउने गरेको छ ।राष्ट्र बैंकका अनुसार कुबेरको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरू हुन्।
उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ। नोटमा रहेको कुबेरको आकृतिको रङ्ग नोटलाई हेरिने कोणको आधारमा फरकफरक रङ्गमा परिवर्तन हुन्छ। सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्र भागलाई हेर्दा उक्त आकृति सुनौलो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रङ्गको देखिने हुन्छ ।
नेपाली नोटमा हेरेर, छोएर र ढल्काएर तथा यूभी प्रकाशमा जाँच्न मिल्ने किसिमका फीचर पनि रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया