आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

२०८२ माघ ०१ गते

आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

काठमाडौं। आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार एक पटकमा ५ लाख रुपैयाँसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था लागू भएको हो।

सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ माघ १ गतेदेखि एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु, सेवा खरिद–बिक्री वा अन्य कारोबार गर्दा बैंक वा वित्तीय संस्थाका माध्यम तथा बैंकिङ उपकरण प्रयोग गर्नुपर्नेछ।

Advertisement:

Ad
Ad

राजपत्रमा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ग को उपदफा (१) अनुसार नगद कारोबारको सीमा निर्धारण गरिएको हो। यो व्यवस्था व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरू सबैका लागि लागू हुनेछ।

तर वित्तीय संस्थामा निक्षेप राख्दा, बचत वा सटही गर्दा, कर्जा लिँदा तथा कर्जाको साँवा र ब्याज भुक्तानी गर्दा भने यो सीमा लागू हुने छैन। साथै, वित्तीय संस्थाहरूबीच हुने नगद कारोबारमा पनि यो व्यवस्था बाध्यकारी नहुने स्पष्ट गरिएको छ।

नगदको सीमाभन्दा बढी रकमको स्रोत र प्रयोजन खुल्ने गरी आफूसँग राख्न वा देशभित्र एक स्थानबाट अर्को स्थानमा लैजान भने सकिनेछ। विशेष कारण देखाई कुनै निक्षेपकर्ता वा बचतकर्ताले नगद भुक्तानीका लागि निवेदन दिएको अवस्थामा, कारण उपयुक्त देखिएमा सम्बन्धित वित्तीय संस्थाले तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी दिन सक्ने व्यवस्था पनि गरिएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ५ लाख रुपैयाँभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी चेक’ प्रयोग गर्न निर्देशन दिइसकेको छ।