२०८३ असार ०२ गते
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा छलफल गरेको हो।
छलफलका क्रममा डीआईजी काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच दीर्घकालीन तथा सिर्जनात्मक उद्देश्यका विषयमा सहकार्य आवश्यक रहेको बताए। उनले पहाडी क्षेत्रमा सञ्चालनका लागि उपयुक्त ठूला सीसीका मोटरसाइकलहरू समेत काठमाडौंमा प्रयोग भइरहेको उल्लेख गर्दै स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटनाको दर बढी देखिएको बताए।
उनले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि नाडाले पहल गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टर तथा पहिलो पटक चालक अनुमतिपत्र ९लाइसेन्स० लिने व्यक्तिहरूलाई ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको आधारभूत प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।
भेटका क्रममा नाडा अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि हुँदै आएको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजान संस्था प्रतिबद्ध रहेको बताए। उनले नाडाको ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्तीको अवसरमा असार १३ देखि १९ गतेसम्म राजधानीमा सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिँदै कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन ट्राफिक प्रहरी कार्यालयको सहयोग अपेक्षित रहेको बताए।
उप्रेतीले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी पनि दिए।छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि रहँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप प्रभावकारी रूपमा अघि बढाइने बताए।
भेटमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मघेराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाललगायतले पनि ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा निजी क्षेत्र र ट्राफिक प्रहरीबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया