२०८३ वैशाख ३१ गते
काठमाडौं । काठमाडौंमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘माउन्टेन ड्यु’ को एक विशेष ब्याचको बिक्री तथा वितरण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ताले उक्त पेय पदार्थ सेवन गरेपछि वान्ता भएको भन्दै भिडियो सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएसँगै विभागको र्यापिड रेस्पोन्स टिमले तत्काल उद्योगमा पुगेर निरीक्षण गरेको हो।
अनुगमन टोलीले काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलामा रहेको ‘वरुण वेभेरेज ९नेपाल० प्रालि’ मा निरीक्षण गर्दा उपभोक्ताले प्रयोग गरेको ब्याच नं. १६८, उत्पादन मिति ०३–०४–२६, २५० मिलिलिटर प्याकको माउन्टेन ड्यु गोदाममा केवल एक क्रेट ९२४ बोतल० मात्र बाँकी रहेको पाएको जनाएको छ। बाँकी उत्पादन भने डिलरमार्फत बजारमा पठाइसकिएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार प्रारम्भिक जाँचका क्रममा उत्पादनमा प्रयोग भएका कच्चा पदार्थहरूको म्याद भने सकिएको भेटिएको छैन।खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले उक्त ब्याचको प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म बिक्री तथा वितरण रोक्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन दिएको छ। साथै, संकास्पद उत्पादनको नमूना संकलन गरी विस्तृत परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
यससँगै उत्पादनमा प्रयोग भएका कच्चा पदार्थको विवरण तथा खाद्य स्वच्छतासम्बन्धी सम्पूर्ण अभिलेख पाँच दिनभित्र विभागमा पेश गर्न उद्योगलाई निर्देशन दिइएको विभागले जनाएको छ।
प्रतिक्रिया