मौरिसससँगको दोहोरो कर सम्झौता डीटीएए खारेज गर्ने सरकारको  निर्णय

२०८२ मंसिर २४ गते

मौरिसससँगको दोहोरो कर सम्झौता डीटीएए खारेज गर्ने सरकारको  निर्णय

काठमाडौँ । नेपाल सरकारले मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता डीटीएए खारेज गर्ने निर्णय गरेको छ । नेपाल सरकारको तर्फबाट आन्तरिक राजस्व विभागका महानिर्देशक श्री मदन दाहालले आज बुधबार कूटनीतिक माध्यमबाट डीटीएएको धारा २९, उपधारा १ (समाप्ति सम्बन्धी प्रावधान)बमोजिम सम्झौता खारेज गरिएको औपचारिक पत्र पठाएका हुन् ।

 

Advertisement:

Ad
Ad

नेपाल सरकारको यो रणनीतिक निर्णय घरेलु कानुन र विश्वव्यापी कर वातावरण दुवैमा भएका महत्वपूर्ण परिवर्तनहरूसँग आफ्नो अन्तर्राष्ट्रिय कर संरचनालाई एकरूप बनाउन आवश्यक भएकोले लिइएको बताइएको छ । 

 

विश्वब्यापी कर सहयोगः सन् १९९९ पछिको अवधिमा विश्वव्यापी कर शासनमा आमुल परिवर्तनहरू आएका छन्, उदाहरणका लागि औइसिडीको कर आधार कटौती तथा मुनाफा स्थानान्तरण परियोजना जस्ता पहलहरू मार्फत अन्तर्राष्ट्रिय कर सम्झौताहरूमा बढी पारदर्शिता र कर दुरुपयोग नियन्त्रणको माग हुने गर्दछ । यो खारेजीले नयाँ विश्वव्यापी न्यूनतम मापदण्डहरूको पालना गर्ने समकालीन सम्झौताका लागि मार्ग प्रशस्त गरेको छ ।


नेपाल मौरिसस गणतन्त्रसँग द्विपक्षीय आर्थिक र कर सहयोगलाई प्रवर्द्धन गर्न सक्रिय रूपमा लागि रहने सरकारी भनाई छ। यसमा नयाँ, आधुनिक दोहोरो कर मुक्ति सम्झौता डीटीएए र द्विपक्षीय लगानी संरक्षण सम्झौतामा वार्ता गर्ने सम्भावनालाई अझ खुला गरेको छ । 

 

मौजूदा डीटीएए खारेजीको मिति धारा २९ मा उल्लिखित प्रावधानहरू अनुसार नेपालको हकमा आगामी आर्थिक वर्ष २०८३ । ८४ को साउन १ गते देखि कायम हुनेछ।