२०८२ असोज १४ गते
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सारेको छ।
पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार सर्कुलर पठाइएको बताइएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा भनिएको छ, 'निर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाउने ।'साथै तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा समेत माओवादीले जोड दिएको छ ।
त्यसैगरी, पार्टीले २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन् । यसैगरी बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ ।
प्रतिक्रिया