२०८३ असार १४ गते
काठमाडौँ । वैदेशिक रोजगार विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोक्ने निर्णय गरेको छ। यस अनुसार आउँदो साउन १ गतेदेखि उजुरी नटुंग्याएका कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्।
विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार वर्षौंदेखि थाती रहेका मुद्दा र उजुरीलाई अन्तिम टुंगोमा पुर्याउन नवीकरणलाई उजुरी फर्छ्यौटसँग जोडिएको हो। 'नवीकरणका लागि पहिले उजुरीको किनारा लगाउनैपर्छ,' उनले भनिन्।
विभागमा २०५७ सालयताका संस्थागत र व्यक्तिगत गरी करिब ४४ हजार उजुरी थाती छन्। तीमध्ये अधिकांश व्यक्तिगत ठगीसँग सम्बन्धित छन्, जसको फर्छ्यौट विभागका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
तोकिएभन्दा बढी रकम असुल्ने, सम्झौताविपरीत काम लगाउने, तलब नदिने तथा फरक काममा पठाउनेजस्ता विषयमा उजुरी पर्ने गरेका छन्। प्रमाणित उजुरीमा विभागले सम्बन्धित म्यानपावर कम्पनीको धरौटीबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ।
प्रतिक्रिया