एलआईसी नेपालको त्रैमासिक रिपोर्ट : मजबूत बन्दै वित्तीय स्थिति, प्रतिशेयर आम्दानीमा पनि सुधार

२०८२ कात्तिक २८ गते

एलआईसी नेपालको त्रैमासिक रिपोर्ट : मजबूत बन्दै वित्तीय स्थिति, प्रतिशेयर आम्दानीमा पनि सुधार

काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ, जसले कम्पनीको समग्र वित्तीय स्थिति बलियो बन्दै गएको देखाउँछ।

 

Advertisement:

Ad
Ad

कम्पनीले यस अवधिमा १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। त्यसको तुलनामा यस वर्ष ३७ प्रतिशतभन्दा बढी नाफा वृद्धि देखिनु कम्पनीको व्यवसायिक विस्तार, लगानीको प्रभावकारी उपयोग र बीमितको वृद्धि दर राम्रो रहेको बुझ्न सकिन्छ ।

 

चालु आवमा कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रूपमा बढेको छ। गत आवको पहिलो त्रैमासमा १ खर्ब २३ अर्ब ७८ करोड ८० लाख रुपैयाँ रहेको उक्त कोष १०.६४ प्रतिशतले बढेर अहिले १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। बीमा क्षेत्रका लागि यो सूचक दीर्घकालीन दायित्व वहन क्षमताको महत्वपूर्ण आधार मानिन्छ।

 

त्यसैगरी, कम्पनीले यस अवधिमा खुद ब्याज आम्दानीमा पनि सुधार गरेको छ। गत वर्ष ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ रहेको आम्दानी करिब ९.११ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ पुगेको छ।समग्रमा हेर्दा, एलआईसी नेपालको कुल आम्दानी ७ अर्ब ७५ करोड २० लाख रुपैयाँबाट ५ प्रतिशतले वृद्धि भई ८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

 

आम्दानीसँगै कम्पनीको कुल खर्च पनि केही बढेको देखिन्छ। यस अवधिमा कुल खर्च ७ अर्ब १६ लाख रुपैयाँबाट ५.८३ प्रतिशतले वृद्धि भई ७ अर्ब ४० करोड ९६ लाख रुपैयाँ पुगेको छ। बीमा व्यवसायमा खर्च संरचना वृद्धि हुनु पुरानै व्यवसाय विस्तार र दाबीरकमिशन भुक्तानीसँग प्रत्यक्ष सम्बन्धित रहने गर्दछ।

 

अभिकर्ता (एजेन्ट) मार्फत हुने बिक्री बढ्दै जाँदा कमिशन भुक्तानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष २८ करोड ७३ लाख रुपैयाँ कमिशन बुझाएको कम्पनीले चालू वर्षको पहिलो त्रैमासमा २०.३६ प्रतिशत वृद्धि भई ३४ करोड ५८ लाख रुपैयाँ एजेन्ट कमिशन प्रदान गरेको छ।

 

चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेको कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रहेको छ । जगेडा कोषमा ३ अर्ब ९ करोड १८ लाख रहेको छ । लगानीकर्ताका लागि महत्वपूर्ण सूचक प्रतिशेयर आम्दानी इपीएस पनि सुधार भएको छ।वर्ष ५.९८ रुपैयाँ रहेको इपीएस बढेर ७.८८ रुपैयाँ पुगेको छ।