२०८२ माघ २४ गते
काठमाडौँ । भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजबाट औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। मर्मत–सम्भार सम्पन्न भएपछि शुभारम्भ पूजा गर्दै भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले अब देश सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।
आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति भोगेको संस्थामा आफूहरू नै भए पनि त्यस घटनालाई बिर्सेर अगाडि बढ्न चाहेको गुरुङले बताए। “हामी भदौ २४ लाई बिर्सिन्छौँ, किनभने अब हामी जागिसकेका छौँ,” उनले भने, “त्यो दिनका सबै नकारात्मक कुरा जलेर सकिएका छन्, अब निर्माण र विकासको समय हो।”
१२ वटा भाटभटेनीमध्ये क्षतिग्रस्त बनेको कोटेश्वर शाखा पुनः उठ्न सफल हुनु नै आशाको संकेत भएको उनले बताए। “भाटभटेनी उठेको छ भने नेपाल पनि उठ्छ,” गुरुङले विश्वास व्यक्त गर्दै गलत विचार र सोच त्यागेर सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आग्रह गरे।
उनले जापानले दोस्रो विश्वयुद्धपछि गरेको पुनर्निर्माणको उदाहरण दिँदै नेपाल पनि एकताबद्ध प्रयासमार्फत पुनःनिर्माण र विकासमा अब्बल बन्न सक्ने बताए। साथै, अरूका लागि सहयोग गर्ने संस्कार विकास गर्न सबै नेपालीलाई आह्वान गरे।
भाटभटेनीको पुनः सञ्चालनले व्यवसायिक क्षेत्र मात्र नभई समग्र समाजलाई नै आशा र सकारात्मक सन्देश दिएको छ।
प्रतिक्रिया