खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

२०८३ भदौ ०२ गते

खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले चामल, दाल र गेडागुडीजस्ता खाद्यवस्तु खुला रूपमा बिक्री गर्न रोक लगाउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा यस्ता खाद्यवस्तु अनिवार्य प्याकेजिङ, गुणस्तर परीक्षण र लेबलिङ गरेर मात्र बिक्री गर्नुपर्ने प्रस्ताव गरिएको छ।

 

Advertisement:

Ad
Ad

खाद्यवस्तुमा हुने मिसावट, गुणस्तरहीन वस्तुको बिक्री र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि सारिएको मन्त्रालयले जनाएको छ। मस्यौदामा सीमा नाकादेखि उत्पादन, भण्डारण, ढुवानी र बिक्रीसम्म आपूर्ति प्रणालीको निगरानी बढाउने तथा रियल टाइम डाटामा आधारित एकीकृत आपूर्ति व्यवस्थापन प्रणाली विकास गर्ने प्रस्तावसमेत गरिएको छ।

 

नीतिले अत्यावश्यक वस्तुको कम्तीमा तीन महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार, दुर्गम क्षेत्रमा ढुवानी अनुदान, सुपथ मूल्य पसल र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणलाई सुदृढ गर्ने योजना अघि सारेको छ।

 

यस्तै, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सार्वजनिक निकायले कम्तीमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने प्रस्ताव गरिएको छ। किसानका लागि न्यूनतम समर्थन मूल्य र खरिदको सुनिश्चितता, बजार अनुगमनलाई प्रविधिमैत्री बनाउने तथा उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिइएको छ।

 

संघीय संरचनाअनुकूल आपूर्ति व्यवस्थापन सुधार, आयातमा निर्भरता घटाउने तथा सिन्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले नयाँ नीति ल्याउन लागिएको मन्त्रालयले जनाएको छ। मस्यौदामा मन्त्रालयले सरोकारवालाबाट राय-सुझाव मागेको छ।