कर्जा माग सुस्ताउँदा राष्ट्र बैंकले फेरि ४० अर्ब खिच्दै

२०८३ वैशाख ०९ गते

कर्जा माग सुस्ताउँदा राष्ट्र बैंकले फेरि ४० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले १६० दिन अवधिका लागि उक्त रकम बजारबाट खिच्न लागेको हो।

 

Advertisement:

Ad
Ad

हाल कर्जाको माग उल्लेख्य रूपमा नबढ्दा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई रकम उपलब्ध गराइरहेका छन्। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण तथा ब्याजदर स्थिर राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्।

 

दीर्घकालीन निक्षेप संकलन गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेको सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिनेछ। बोलकबोल अनलाइन प्रणालीमार्फत हुने छ र ब्याजदर पनि प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ भने अधिकतम सीमा कुल आह्वान रकमसम्म, ५ करोड रुपैयाँका गुणकमा निर्धारण गरिएको छ। यस १६० दिने उपकरणको साँवा र ब्याज असोज २१ गते भुक्तानी गरिनेछ।

 

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता बढी देखिएमा त्यसको व्यवस्थापन गर्न बढीमा ६ महिनासम्मको अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार केन्द्रीय बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।