५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

२०८३ वैशाख १४ गते

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र ५ हजार ५७० मिटर उचाइमा रहेको नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न गरिएको छ । जुगल गाउँपालिकाको विशेष आयोजना तथा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजना अन्तर्गत वैशाख ३ गते उक्त सफल आरोहण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यस पिकलाई ‘जुगल एभरेष्ट भ्यू प्वाइन्ट’नामकरण गरिएको छ ।

 

Advertisement:

Ad
Ad

लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने गाउँपालिकाको विश्वास छ । साथै, यसले स्थानीय समूदायको आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

 

गाउँपालिकाका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल चो ओयू, मकालु, ल्होत्से, शिशापाङ्मा लगायत—स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ । साथै, जुगल हिमशृङ्खलाका अन्य दर्जनौँ हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिने बताइएको छ।

 

यस पिकको अर्को विशेषता यसको सहज र सुरक्षित आरोहण रहेको जनाइएको छ। कुनै विशेष प्राविधिक कठिनाइ तथा जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका पर्यटक तथा पदयात्रीले पनि सहज रूपमा आरोहण गर्न सक्नेछन् । काठमाडौंबाट नजिकको पहुँच, छोटो समय र न्यूनतम खर्चमै हिमाल आरोहणको अनुभव लिन सकिने भएकाले यो गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकका लागि ‘गेम चेन्जर’ बन्न सक्ने विश्वास गाउँपालिकाको छ । यस ऐतिहासिक उपलब्धिसँगै विस्तृत प्राविधिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।