२०८३ असार १७ गते
काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य उल्लेख्य रूपमा घटाएपछि सार्वजनिक सवारीको भाडा पनि तत्काल समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग आग्रह गरेको छ।
महासंघले इन्धनको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ यात्रुसम्म पुग्नुपर्ने भन्दै स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गर्न माग गरेको हो।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारको पछिल्लो इन्धन मूल्य घटाउने निर्णयको स्वागत गर्दै अब भाडा समायोजनमा ढिलाइ नगर्नुपर्ने बताएका छन्। उनका अनुसार मूल्यवृद्धि हुँदा भाडा बढाइने अभ्यास रहेको अवस्थामा मूल्य घट्दा पनि सोही सिद्धान्त लागू हुनुपर्छ।
उनले सार्वजनिक यातायातमा वैज्ञानिक, पारदर्शी र समयानुकूल भाडा निर्धारण प्रणाली आवश्यक रहेको उल्लेख गर्दै स्पष्ट मापदण्डका आधारमा नियमित रूपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
सिटौलाले सार्वजनिक सवारीको भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्र आधार बनाउन नहुने पनि बताएका छन्। उनका अनुसार सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, चालक तथा सहचालकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक परिसूचकलाई समेत समेटेर वैज्ञानिक रूपमा भाडा निर्धारण गरिनुपर्छ।
नेपाल आयल निगमले हालै डिजेलमा प्रतिलिटर ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाएको थियो। त्यससँगै सार्वजनिक यातायातको भाडा पनि घट्ने अपेक्षा यात्रु तथा सरोकारवालाले गरेका छन्।
प्रतिक्रिया