चौतर्फी दबाबपछि हिमालयन लाइफका सीईओ कर्णले दिए राजिनामा, बिचौलियाको स्वार्थ अनुरुप चलेको आरोप

२०८२ असोज २८ गते

चौतर्फी दबाबपछि हिमालयन लाइफका सीईओ कर्णले दिए राजिनामा, बिचौलियाको स्वार्थ अनुरुप चलेको आरोप

काठमाडौं । हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कर्णले दिएको राजिनामा सोमबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।

 

Advertisement:

Ad
Ad

कर्णमाथि हिमालयन लाइफको पैसा सीमित व्यक्तिको स्वार्थमा प्रयोग गरेको आरोप लागिरहेको थियो ।हिमालयन रिइन्स्योरेन्स कम्पनीका सेयरधनीका लगानीकर्ताको स्वार्थका लागि बिचौलिया दीपक भट्टको पत्नीको समेत लगानी रहेको हिमालयन लाइफको पैसा अर्धसरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर किन्न प्रयोग भएको र त्यसमा कर्ण मतियार रहेको आरोप लागेको थियो । 

 

नेपाल पुनर्बिमा कम्पनीको २ करोड १४ लाख ७५ हजार कित्तामध्ये सबैभन्दा धेरै हिमालयन लाइफको नाममा रहेको देखिएको छ । भदौ १५ को तथ्यांकअनुसार हिमालयन लाइफले ६ अर्ब रुपैयाँ बराबरको ३६ लाख ४६ हजार कित्ता सेयर होल्ड गरेको थियो ।


हिमालयन लाइफको ७९ अर्ब रुपैयाँ लगानीमध्ये नेपाल रिमा साढे ७ प्रतिशत लगानी छ । जीवन बिमा कम्पनीले सूचीकृत संस्थाको सेयरमा १५ प्रतिशत लगानी गर्न पाइनेमा आधा एउटै कम्पनीमा देखिन्छ ।

 

जथाभावी लगानी गरेर कम्पनीलाई हानी नोक्सानी पुराएको आरोप कर्णमाथि छ । साथै अभिकर्तालाई प्रतिस्पर्धा कम्पनी बराबर पनि बोनस दिन नसकेको, लगानी विविधिकरण गर्दै सेयरधनीलाई पर्याप्त प्रतिफल पनि दिन नसकेको आरोप कर्णले खेप्दै आएका थिए । अभिकर्ताले सीईओ कर्णसँगै हिमालयन लाइफको अध्यक्ष सुलभ अग्रवालको पनि राजिनामा माग्दै आएका छन् ।