२०८२ कात्तिक २५ गते
बैतडी । बैतडीका हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ‘हल गोरु पालन गर्ने कृषकहरूका लागि प्रोत्साहन’ कार्यक्रम अन्तर्गत उनीहरूलाई प्रोत्साहन गरिने भएको हो ।
हल गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पाँच हजारका दरले किसानहरूलाई प्रोत्साहन रकम उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन, बैतडीका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । हल गोरु पालन गर्ने कृषकलाई संरक्षण र प्रवर्धन गर्न उनीहरूलाई प्रोत्साहन गरिने उनले बताए ।
बैतडीमा कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले १० लाख बजेट उपलब्ध गराएको छ । न्यूनतम पाँच हजारका दरले किसानहरूलाई प्रोत्साहन गर्ने योजना रहेको बताइएको छ । यस कार्यक्रममा करिब दुई सय किसानहरूलाई प्रोत्साहन गरिने विज्ञ केन्द्रले जनाएको छ ।
परम्परागत कृषि प्रणालीसँगै स्थानीय तथा हल गोरुको संरक्षण गर्न सुदूरपश्चिम प्रदेश सरकारले यहाँका नौ ओटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरेको छ । अनुदान छनोट समितिले दुर्गम क्षेत्रका गोरु पालक कृषकलाई प्राथमिकतामा राखेर प्रोत्साहन गरिने पन्तले जानकारी दिए।
प्रतिक्रिया