बौरियो घरजग्गाको बजार : काठमाडौंमा दोब्बर कारोबार, दाङ र बुटवलमा पनि उल्लेख्य वृद्धि

२०८३ असार २३ गते

बौरियो घरजग्गाको बजार  : काठमाडौंमा  दोब्बर कारोबार, दाङ र बुटवलमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा देशको घरजग्गा बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार घरजग्गा कारोबारको संख्या, कारोबार मूल्य, राजस्व संकलन तथा बैंक कर्जालगायत अधिकांश सूचकमा उल्लेख्य वृद्धि भएको छ।

 

Advertisement:

Ad
Ad

प्रतिवेदनअनुसार तेस्रो त्रैमाससम्म घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। त्यस्तै लिखतपारित अन्तर्गतको राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ भने कुल कारोबार भएको क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ।

 

यस अवधिमा देशभर  १८३ अर्ब ९० करोड बराबरको घरजग्गा किनबेच भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १०० अर्ब ७ करोड मात्रै थियो। अर्थात् एक वर्षमै घरजग्गा कारोबारको मूल्यमा उल्लेख्य उछाल आएको देखिएको छ।

घरजग्गा कारोबारबाट सरकारले उठाएको राजस्व पनि २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ५.५५ प्रतिशतले बढेको छ।

 

बागमती प्रदेश सबैभन्दा अगाडि

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। यसको विपरीत मधेश प्रदेशमा भने यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ।घरजग्गा कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ। यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत वृद्धि भएको छ भने सबैभन्दा कम वृद्धि मधेश प्रदेशमा २२.६७ प्रतिशत रहेको छ।प्रतिवेदनअनुसार सातै प्रदेशमा सबैभन्दा बढी कारोबार २.५ देखि १० आनासम्म क्षेत्रफल भएका जग्गामा भएको छ।

 

काठमाडौं महानगरमा कारोबार दोब्बरले बढी

महानगरपालिकामध्ये सबैभन्दा उल्लेख्य वृद्धि काठमाडौं महानगरपालिकामा देखिएको छ। यहाँ घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ।

त्यसपछि क्रमशः पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.८१ प्रतिशत, वीरगञ्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत र विराटनगर महानगरपालिकामा २७.९२ प्रतिशतले कारोबार बढेको छ।

महानगरपालिकामध्ये कारोबार भएको कुल क्षेत्रफलमा पनि सबैभन्दा धेरै वृद्धि काठमाडौंमा ११९.८९ प्रतिशत रहेको छ भने घरजग्गा कारोबारको कुल मूल्यमा काठमाडौंमा २२३.१२ प्रतिशतको उच्च वृद्धि देखिएको छ।

 

उपमहानगरपालिकामा बुटवल र तुलसीपुर अग्रस्थानमा

उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ। कलैया उपमहानगरपालिकामा भने कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ।कारोबार भएको क्षेत्रफलमा तुलसीपुर उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको छ, जहाँ ४२.७४ प्रतिशत वृद्धि भएको छ। यता नेपालगञ्ज उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ६८.२९ प्रतिशतले घटेको छ।

 

यद्यपि घरजग्गा कारोबारको कुल मूल्य भने ११ वटै उपमहानगरपालिकामा बढेको छ। तुलसीपुरमा सबैभन्दा धेरै १३४.४६ प्रतिशतले कारोबार मूल्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार यी तथ्याङ्क भूमि व्यवस्थापन तथा अभिलेख विभाग र केन्द्रीय बैंकले संकलन गर्ने रियल–स्टेट कर्जासम्बन्धी विवरणका आधारमा तयार गरिएको हो।