अब गाडीमा कालो सिसा राख्न नपाइने,नाडाले शुरु गर्यो ट्राफिक प्रहरीसँग छलफल

२०८३ असार १५ गते

अब गाडीमा कालो सिसा राख्न नपाइने,नाडाले शुरु गर्यो ट्राफिक प्रहरीसँग छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।

 

Advertisement:

Ad
Ad

आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विभिन्न पक्षबारे छलफल गरेको हो।

 

छलफलका क्रममा डीआईजी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोगलाई अनुमति नदिइने र यस्ता सवारी साधन विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग भएको पाइएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिए।

 

उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा अन्य कुनै प्रकारका स्टिकरसमेत टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी साधन आयातकर्ताले पनि ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए। साथै, विशेष कारणले कालो सिसा प्रयोग गर्न चाहनेले सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने र उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्न आयातकर्तालाई आग्रह गरे।

 

नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारी साधनमा कालो स्टिकर ९फिल्म० प्रयोग भएको र त्यसलाई हटाउन प्राविधिक रूपमा जटिलता नरहेकाले पहिलो चरणमा कालो फिल्म हटाउने अभियान अघि बढाउन उपयुक्त हुने सुझाव दिए।

 

त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नरहेकाले यकिन विवरण तयार गरी दोस्रो चरणमा ती सवारी साधनबाट पनि कालो सिसा हटाउन सकिने धारणा राखे।

 

कालो सिसा हटाउने विषयमा थप समन्वय र सहकार्यका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित रूपमा छलफलका लागि अनुरोध गरेको जनाएको छ।

 

छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिलगायत दुवै पक्षका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।