२०८३ साउन २० गते
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै एकलाख रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको पनि बताए ।उनले फ्रि भिसा, फ्रि टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी सुरु गरिसकेको जानकारी दिए।
मन्त्री यादवले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा कार्यरत एक सय ५५ जना नागरिकलाई उद्धार गर्ने तयारी भएको समितिमा जानकारी गराए ।बैठकमा समिति सदस्यहरुले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च व्यहोर्नु परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
समितिका सदस्यहरुले श्रमिकले तोकिएको सम्झौता बमोजिम पारिश्रमिक नपाएको भन्दै श्रमिक विदेश पठाउने त्यस्ता म्यानपावर कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने सुझाव दिए।
सदस्यहरुले घरेलु कामदारमा विदेश पठाउँदा जीटुजीमार्फत सम्बन्धित मुलुकमा पठाउनुपर्ने र वैदेशिक रोजगारमा ठगिएका नागरिकको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार लाग्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया