२०८३ वैशाख १४ गते
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा केही घटे पनि समग्र व्यवसायिक गतिविधिमा सुधार देखिएको छ।
तेस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँको तुलनामा ३.७१ प्रतिशतले कम हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ थियो।
अन्य आम्दानी स्रोतहरूमा सुधार हुँदा बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ। तर सञ्चालन मुनाफा भने ३।५३ प्रतिशतले घट्दै ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ थियो।
व्यवसाय विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकांक अनुसार बैंकको प्रतिशेयर आम्दानी ईपीएस ३२ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ। निष्कृय कर्जा अनुपात घटेर ०.६१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ०.६४ प्रतिशत थियो। साथै बैंकको बेस रेट ४.५७ प्रतिशत र सिडी रेसियो ८५.८८ प्रतिशत कायम रहेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया