२०८३ असार २१ गते
काठमाडौँ । म्यानपावर व्यवसायीमार्फत दक्षिण कोरियाको श्रम बजारमा ई–७ ९सीपयुक्त० भिसामा रोजगारीका लागि जान पर्खिरहेका नेपाली श्रमिकका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रालयले सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया विधिसम्मत ढङ्गले अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्यो । मन्त्रालयले मन्त्रीस्तरबाट गत असार १५ गते भएको निर्णयका आधारमा परराष्ट्रलाई यस्तो आग्रह गरेको हो ।
यो निर्णयका लागि परराष्ट्र मन्त्रालयबाट प्राप्त अघिल्लो निर्देशन, दक्षिण कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट विभिन्न रिटमा जारी भएका आदेशहरूलाई मुख्य आधार मानिएको छ । नयाँ व्यवस्था अनुसार अबदेखि सीपयुक्त श्रमिकलाई ई–७ भिसामा दक्षिण कोरिया पठाउँदा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्नेछ । यसका लागि दक्षिण कोरियास्थित नेपाली कूटनीतिक नियोग ९दूतावास० बाट मागपत्र प्रमाणीकरण गराई सम्पूर्ण कार्यसम्पादन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले यो निर्णयसँगै वैदेशिक रोजगार विभाग ताहाचललाई आवश्यक प्रबन्ध मिलाउन तथा सम्पूर्ण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसको बोधार्थ सियोलस्थित नेपाली राजदूतावासलाई समेत पठाइएको छ ।
लामो समयदेखि कानुनी र प्रक्रियागत अस्पष्टताका कारण रोकिएका सीपयुक्त नेपाली श्रमिकका लागि मन्त्रालयको यो कदमले वैदेशिक रोजगारीको नयाँ र सुरक्षित ढोका खोल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया